जनक कँडेल/गैंडाकोट ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१० स्थित रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा दोहोरो मतदान भएको आरोप लागेपछि मतदान केही समयका लागि अवरुद्ध भएको छ।
प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर सदस्य तथा गैंडाकोट–१० का वडा सचिवले दुई–दुई पटक मतदान गरेको आरोप लगाइएको छ। उक्त घटना सार्वजनिक भएपछि अन्य राजनीतिक दलका कार्यकर्ताहरूले मतदान केन्द्र बाहिर विरोध जनाउँदै धर्ना दिएका छन्।
स्थिति तनावपूर्ण बनेपछि मतदान प्रक्रिया प्रभावित भएको बताइएको छ। घटनाबारे छानबिन गरी कारबाही गर्न माग गर्दै दलका कार्यकर्ताहरूले निर्वाचन अधिकृतलाई दबाब दिएका छन्।
प्रहरीले भने घटनाबारे आवश्यक निर्णय र कारबाही गर्ने अधिकार निर्वाचन अधिकृतसँग भएकाले सम्बन्धित पक्षलाई त्यतै दबाब दिन आग्रह गरेको बुझिएको छ। हाल घटनाबारे थप बुझ्ने काम भइरहेको छ।
प्रतिक्रिया दिनुहोस