२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुद्दाभन्दा रमझममा केन्द्रित एफएनसीसीआई निर्वाचन, मतदातालाई सौराहा, सुकुटेदेखि श्रीलंका भ्रमणसम्मका प्याकेज

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन नजिकिँदै जाँदा निजी क्षेत्रका गम्भीर एजेन्डाभन्दा रमझम र आकर्षक भ्रमणका प्याकेजले बढी चर्चा पाउन थालेका छ।

मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला निजी क्षेत्रको पहिचान, अस्तित्व र भविष्यमाथि बहस हुनुपर्ने समयमा निर्वाचन भने एजेन्डाभन्दा बाहिरी रमझमतिर लागेको भन्दै महासंघभित्रै पनि असन्तुष्टि बढ्न थालेको छ।

केही दिनअघि आयोजित एक कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष भाष्करराज राजकर्णिकारले रमझम प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै भने, “अर्थतन्त्रमा यत्रो ठूलो संकट छ, निजी क्षेत्रको पहिचान र अस्तित्वको लडाइँ छ, तर मुद्दामा बहस छैन, रमझममा निर्वाचन भइरहेको छ। कसैले सौराहा लैजाने, कसैले सुकुटे, कसैले थाइल्याण्ड, कसैले श्रीलंका लैजाने तयारी गरिरहेका छन्। पासपोर्ट दिनुभएको छ भने फिर्ता माग्नुस्।”

केही दिनअघि सुनौलो नेपालले “एफएनसीसीआई निर्वाचन: एजेन्डा ओझेलमा पारेर पैसाको दबदबा, प्रतिनिधि रिझाउन विदेश घुमाइँदै” शीर्षकमा समाचार प्रकाशन गरेपछि निर्वाचनमा देखिएको खर्चिलो र रमझम शैलीबारे महासंघभित्र सार्वजनिक बहसको विषय बनेको छ।

व्यवसायीका हकहित र निजी क्षेत्रका एजेण्डा छोडेर पैसाको दबदबा देखाउन केही समूहले विदेशी भ्रमणदेखि आन्तरिक पर्यटन प्याकेजसम्मका योजना अघि बढाइरहेका छन्।

यही क्रममा वस्तुगत संघतर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले र्‍याफ्टिङसहित सौराहा भ्रमणको योजना अघि सारेका छन्। उच्च स्रोतका अनुसार उनले शुक्रबार त्रिशूलीमा र्‍याफ्टिङ गराएर सहभागी व्यवसायीलाई सौराहास्थित फाइभ स्टार होटल रोयल टुलिपमा राख्ने कार्यक्रम तय गरेका छन्। उक्त होटल व्यवसायी रामेश्वर साहको हो र केही महिनाअघि मात्रै सञ्चालनमा आएको हो।

स्रोतका अनुसार यो भ्रमणमा झण्डै ६ दर्जन व्यवसायी सहभागी हुनेछन्। उनीहरूलाई पर्यटक बसमार्फत त्रिशूली लगेर र्‍याफ्टिङ गराइनेछ भने त्यसपछि सौराहा पुर्‍याइनेछ। सहभागीहरू शनिबार काठमाडौं फर्किने कार्यक्रम छ।

यही समूहले श्रीलंकाको एक व्यावसायिक संगठनसँग अन्तरक्रिया कार्यक्रमका नाममा चैतको दोस्रो साता करिब ६ दर्जन व्यवसायीलाई त्यहाँ लैजाने तयारी पनि गरिरहेको छ।

महासंघको चुनावी गतिविधि खर्चिलो र रमझम केन्द्रीत हुँदै गएकोमा केही व्यवसायीहरुले भने आपत्ति जनाउन थालेका छन्।

एक व्यवसायीले भने, “काठमाडौंका होटलहरूमा अहिले पनि महासंघको चुनाव लक्षित पार्टीहरू भइरहेका छन्। चुनाव नजिकिँदै जाँदा यो अझ ठूलो र विस्तारित हुँदै जान्छ। व्यवसायीको चुनावमा भेटघाट र पार्टी हुनु नराम्रो होइन, तर जुन हिसाबले मत रिझाउन विदेश लैजाने परिपाटीको शुरुवात हुदैं छ त्यो इतिहासमा निकै महँगो पर्न जानेछ। त्यस्ता गलत प्रवृति रोक्नुपर्छ।

आज बस्ने महासंघको कार्यकारिणी समितिको बैठकले साधारण सभाको मिति टुंग्याएपछि श्रीलंका भ्रमणको मिति पनि तय हुने बताइएको छ।

साधारण सभाको मिति भने महासंघभित्रै विवादको विषय बनेको छ। अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशको निर्वाचन बाँकी रहेको र कुनै विवाद नहोस् भन्ने हेतुले साधारण सभा दुई सातापछि सार्नु उपयुक्त हुने धारणा राख्दै आएका छन्। तर वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भने तोकिएकै मितिमा साधारण सभा गरेर अगाडि बढ्नुपर्ने पक्षमा देखिएका छन्।

उता, वस्तुगत संघतर्फकै उपाध्यक्षका अर्का उम्मेदवार शिवप्रसाद घिमिरेले मंगलबार मुलुकको अर्थतन्त्रबारे वृहत् छलफल कार्यक्रम आयोजना गरेका थिए। उक्त कार्यक्रममा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले पनि साधारण सभा तोकिएकै समयमा हुनुपर्ने धारणा राखेका थिए।

एफएनसीसीआई निर्वाचन औपचारिक रूपमा नेतृत्व चयनको प्रक्रिया भए पनि अहिलेका गतिविधिले निजी क्षेत्रको संस्कार, प्राथमिकता र संस्थागत चरित्रमाथि समेत प्रश्न उठाइरहेको छ।

अर्थतन्त्र मन्दीको चपेटामा रहेका बेला निजी क्षेत्रको साझा आवाज बन्नुपर्ने संस्थाभित्र एजेन्डाभन्दा आकर्षण, प्रभाव र रमझमको राजनीति हाबी हुनु दुखद भएको टिप्पणी व्यवसायीहरूले नै गर्न थालेका छन् ।

याे पनि पढ्नुहाेस् :

• एफएनसीसीआई चुनाव: एक भोटको मूल्य १० लाखसम्म, क–कसलाई बुझाउनु पर्छ ‘गड्डी’?

• एफएनसीसीआई निर्वाचन: एजेन्डा ओझेलमा पारेर पैसाको दबदबा, प्रतिनिधि रिझाउन विदेश घुमाईंदै

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट