सेफ सन्तोष साह हिरासत मुक्त भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठगी सम्बन्धी कसुरमा बिगो रकम पीडितको खातामा डिपोजिट गरेपछि उनलाई हाजिर जमानीमा थुनमुक्त गरिएको हाे । जेठ ३ मा पक्राउ परेका साहमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट ३ दिनको म्याद लिएको थियो ।
साहले ४ लाख ५० हजार बिगो रकम पीडितको खातामा जम्मा गरेका हुन् । साहसँगै उनका दाजु ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका थिए । आर्जव होल्डिङ प्रालिलाई उनले दिएको २५ लाखको चेक नसाटिएको बैंकिङ कसुरको मुद्दा फैसला भएको र अदालतमा उपस्थित हुने म्याद बाँकी नै रहेको देखिएको छ । सो प्रकरणमा अहिले केही नभएको प्रहरी स्राेतले बतायाे ।
बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले बिगो भराएर १ महिना कैद सजाय हुने फैसला गरेको थियो । सो फैसला उपर पुनरावेदन पनि गर्न सकिने कानुनी व्यवस्था छ । आर्जव होल्डिङ प्रालिले नक्सालमा शिला रेस्टुरेन्ट सञ्चालन गरेको थियो । नक्साल स्थित गैरीधारामा रहेको सो रेस्टुरेन्ट मिथिला थाली प्रालिले खरिद गरेको थियो । रेस्टुरेन्ट खरिद गर्दा साहले दिएको चेक बाउन्स भएको हो ।
प्रतिक्रिया दिनुहोस