काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित नेतृत्वलाई शपथ गराएका हुन् ।
गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
शपथ ग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र र पार्टीको प्रतीक घण्टी जडित मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । तर वरिष्ठ नेता बालेन शाह भने कार्यक्रममा सहभागी भएनन् ।
शपथसँगै रास्वपाले संगठनात्मक गतिविधिलाई थप गति दिने तयारी गरेको छ । आजै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी गरिएको छ । बैठकमा पार्टी संरचनाअन्तर्गत मनोनित गरिने ५१ जना सदस्यको विषयमा समेत छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस