राहदानी खरिद प्रकरणसँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित केही समाचारप्रति जर्मन दूतावासले असन्तुष्टि जनाएको छ ।
दूतावासले उक्त विषयमा फैलाइएका कतिपय विवरण ‘गलत वा भ्रामक’ रहेको भन्दै आफ्नो फेसबुक पेजबाट कडा प्रतिक्रिया जनाएको हो ।
दूतावासले फेसबुकमार्फत जारी गरेको नोटमा राहदानी खरिदसम्बन्धी मुद्दालाई लिएर जर्मनीस्थित नेपाली कार्यवाहक राजदूत (चार्ज द अफेयर्स) लाई जर्मन विदेश मन्त्रालयमा ‘बोलाइएको’ विषयलाई गलत ढंगले प्रस्तुत गरिएको दाबी गरेको छ ।
दूतावासका अनुसार नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा ‘समन’ गरिएको होइन, ‘बैठकका लागि निमन्त्रणा’ गरिएको हो । कूटनीतिक अभ्यासमा यी दुई शब्दबीच महत्वपूर्ण अन्तर हुने दूतावासको भनाइ छ ।
त्यस्तै, उक्त भेटका क्रममा नेपाल पक्षलाई कुनै प्रकारको ‘विरोधपत्र’ (प्रोटेस्ट नोट) वा अन्य आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि दूतावासले जनाएको छ ।
दूतावासले अर्को महत्वपूर्ण दाबी गर्दै राहदानी खरिद प्रकरणको अदालती प्रक्रियाको परिणामका आधारमा कुनै सम्भावित असर वा कारबाहीबारे नेपाललाई चेतावनी दिइएको भन्ने समाचार पनि असत्य रहेको बताएको छ ।
‘कार्यवाहीको नतिजाका आधारमा सम्भावित परिणामबारे कुनै चेतावनी दिइएको थिएन,’ दूतावासको भनाइ छ ।
जर्मन दूतावासले न्यायपालिकाको स्वतन्त्रतालाई आफ्नो संविधानमै सुनिश्चित गरिएको आधारभूत सिद्धान्तका रूपमा व्याख्या गर्दै आफूहरूले जारी अदालती प्रक्रियाबारे कुनै टिप्पणी नगर्ने नीति अवलम्बन गरेको जनाएको छ ।
‘जर्मनीले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण सम्मान गर्छ । यो हाम्रो संविधानमा स्थापित सिद्धान्त हो । सिद्धान्ततः दूतावासले चलिरहेका अदालती प्रक्रियाबारे टिप्पणी गर्दैन र यस प्रकरणमा पनि कुनै चरणमा त्यस्तो टिप्पणी गरेको छैन,’ दूतावासले भनेको छ ।
प्रतिक्रिया दिनुहोस