काठमाडौं । अमेरिकामा आइडा नामक सामुद्रिक आँधीको प्रभावले भएको भीषण वर्षापछि आएको बाढीका कारण एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुने नेपालीहरूमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नम्बर( २ जुनवेशी घर भई हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूको १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन्। उनीहरु न्यूयोर्कमा बस्दै आएका थिए ।
युनाइटेड शेर्पा एसोसियसन युएसएले सामाजिक सञ्जालमार्फत उनीहरुको मृत्यु भएको जनाएको छ ।
आइडाको कारण मौसम प्रभावित भई न्यूयोर्कमा ठूलो वर्षा भएको छ । वर्षापछिको बाढीका कारण न्यूयोर्क र न्यूजर्सी सबैभन्दा धेरै प्रभावित भएका छन् ।
बाढीमा परेर अहिलेसम्म कम्तिमा ४२ जनाको ज्यान गएको अलजजिराले जनाएको छ ।