logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षामा

    टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षामा

    2.8K
    Shares
    टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षामा

    एजेन्सी । टर्कीए र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन्भने प्रतिकूल मौसमको पर्वाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् ।

    निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान सात महिनाको एक शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । शनिबार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो । भूकम्पको करिब एक सातापछि पीडितहरूलाई जीवित उद्धार गर्न सफल भएकामा उनीहरूले त्यसलाई चमत्कार भन्दै हर्ष प्रकट गरेका छन् ।

    दक्षिणी टर्कीएमा केही परिवार हराइरहेका आफ्ना परिवारको खोजीमा उद्धारकर्मीसँगै जुटेका छन् । शोकाकुल अर्को परिवार चिहानमा परिणत खेतमा बिलौना गरिरहेको छ । उक्त खेतमा हजारौँ शव व्यवस्थापन गरिएको छ ।

    सुरक्षाको कारण देखाउँदै केही सहायता निकायले राहत सामग्री वितरण रोकेपछि दर्जनौँलाई लुटपाट मच्चाएको अभियोगमा पक्राउ गरिएको सरकारी समाचार समितिले जनाएको छ । जर्मनी र अष्ट्रेलियाले शनिबार केही स्थानमा राहत सामग्री वितरण स्थगन गरेका थिए । केही ठाउँमा झडप पनि भएको थियो ।

    भूकम्पबाट दुई करोड छब्बीस लाख प्रभावित

    कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको पहिलो भूकम्प र त्यसको केही क्षणपछि त्यति नै शक्तिशाली अर्को कम्पबाट तहसनहस भएको टर्कीए र सिरियाका दुई करोड छब्बीस लाख मानिस प्रभावित भएका छन् ।

    संयुक्त राष्ट्रसङ्घले टर्कीए र सिरियाका आठ लाख ७० हजार भूकम्पपीडितलाई तत्काल तातो खाना आवश्यक परेको बताएको छ । उक्त विश्व संस्थाले सिरियामा ५३ लाख मानिस घरवारविहीन भएका अनुमान गरेको छ । भूकम्पले दर्जनौँ अस्पताल ध्वस्त भएका छन् ।

    टर्कीएको विपद् व्यवस्थापन निकायले देशका विभिन्न सामाजिक संस्थाका ३२ हजारभन्दा बढी स्वयम्सेवकका साथै आठ हजार दुई सय ९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका जनाएको छ ।

    टर्कीएको गाजिन्टेपका चमेनागृहमा हजारौँ स्वयम्सेवक भूकम्पपीडितलाई खुवाउन हरसंभव सहयोग गरिरहेका छन् । आफ्नो गाडीलाई नै शयन कक्षमा परिणत गरेर केही स्वयम्सेवक सेवामा तल्लीन छन् ।

    संयुक्त राष्ट्रसङ्घले कुर्दिश लडाकु र सिरियाली विद्रोही सक्रिय रहेका क्षेत्रमा मानवीय सहायता परिचालनमा अवरोध नगर्न आह्वान गरेको छ । साथै उक्त संस्थाले मानवीय सहयोग परिचलानमा सघाउन आग्रह पनि गरेको छ । राहत सामग्री ढुवानीका लागि पैतीस वर्षपछि आर्मेनिया र टर्कीएबीचको बाटो पनि खोलिएको छ । शनिबारदेखि उक्त बाटो सञ्चालनमा आएको हो ।

    एलेप्पोमा चिकित्सा सहयोग

    सहयोग वर्षौँको आन्तरिक द्वन्द्वका कारण कमजोर रहेको सिरियाको स्वास्थ्य सेवा प्रणाली नाजुक छ । त्यहाँ स्वास्थ्यलगायत राहत सामग्री परिचालनमा पनि विलम्ब भएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख आपत्कालीन स्वास्थ्य सामग्री र उपकरण लिएर भूकम्प प्रभावित एलेप्पो पुगेका छन् । उनले भूकम्पबाट मातापिता तथा अभिभावक गुमाएका बालबालिकालाई भेटेका छन् ।

    सिरिया सरकारले पनि भूकम्प प्रभावित विद्रोही नियन्त्रित क्षेत्रमा मानवीय सहायता सामग्री ढुवानीको अनुमति दिएको छ । राजधानी दमास्कसमा विभिन्न देशबाट राहत सामग्री लिएर ५७ वटा विमान अवतरण गरेका त्यहाँका यातायातमन्त्रीले बताएका छन् ।

    टर्कीएले पनि सिरियासँगका दुई वटा नयाँ सीमा नाका खोल्ने बताएको छ । यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषद्लाई टर्कीए र सिरियाबीचका सीमा नाका खोल्ने अनुमतिका निम्ति आग्रह गर्नुभएको थियो ।

    जनमानसमा आक्रोश

    भूकम्पमा घर, परिवारसँगै सर्वस्व गुमाएका पीडित गुणस्तरहीन भवन निर्माता तथा सरकारीस्तरका उद्धार तथा राहतमा विलम्ब भएकामा जनसाधारण आक्रोशित भएका छन् । अधिकारीहरूका अनुसार १२ हजार एक सय ४१ भवन भत्केका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।

    टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् ।

    सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन् । सिरियाका स्वास्थ्यमन्त्री हसन अल गब्बासले संयुक्त राष्ट्र सङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन् ।

    रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सिरियन रेड क्रिसेन्टलाई आपतकालीन मानवीय सहायतास्वरुप दुई लाख अमेरिकी डलर नगद उपलब्ध गराएको छ । साथै समितले भूकम्प प्रभावित क्षेत्रमा थप सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    सिरियाका लागि युरोपेली सङ्घका राजदूतले भूकम्पपीडितलाई सङ्घले पर्याप्त सहयोग नगरेको आरोपको खण्डन गरेका छन् । भूकम्प प्रभावित दुवै देशका लागि पर्याप्त सहयोग उपलव्ध गराउन सङ्घ असफल भएको आरोप लगाउनु उचित नभएको उनले बताएका छन् । एक दशकभन्दा लामो समयदेखि सङ्घले सिरियालाई निरन्तर सहयोग गर्दै आएको तथा भूकम्पले सृजना गरेको सङ्कटको यो घडीमा अझ बढी सहायता सिरियाका निम्ति परिचालन गरिएको दाबी उनले गरेका छन् ।

    विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीएका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलव्ध गराउन आह्वान गरेका छन् । साथै उनले आगामी साता टर्कीए र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् ।

    उद्धारकर्मीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सिरिया र टर्कीएमा २९ हजार एक सय १७ जनाको मृत्यु भएको छ । टर्कीएमा २४ हजार छ सय १७ जना तथा सिरियामा चार हजार पाँच सय जनाले ज्यान गुमाएका छन् । संयुक्त राष्ट्रसङ्घले महाभूकम्पबाट ५० हजारले ज्यान गुमाएका अनुमान गरेको छ । गत सोमबारदेखि आजसम्म टर्कीएमा दुई हजार तीन सय ५६ परकम्प महसुस गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend