logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएनः अध्यक्ष नेपाल

    पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएनः अध्यक्ष नेपाल

    2.2K
    Shares
    पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएनः अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन् ।

    शुक्रवार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीमा बोल्दैँ अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका हुन् । उनले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि प्रतिफल नआएको बताए । सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उनको भनाई छ । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राखे । उनले देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको बताए । उनले कुनैपनि कुरामा दूरगामी सोँच राख्न नसकिएको टिप्पणी गरे ।

    उनले भने, ‘मैले संसदमा पनि भनेको थिएँ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो ? लुम्बिनीको जरुरी थियो ? त्यहाँ अर्बौंको खर्च भएको छ । त्यहाँ पैसा लगानी भएको छ । त्यो लगानीको प्रतिफल विचार गर्नुस् त । त्यसको ब्याज । त्यही पैसा यदी अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो । उदाहरणका लागि निजगढमा विमानस्थल बनाएको भए निजगढको विमानस्थलले हाम्रो आवश्यकता पूर्ति गर्ने थियो । अहिले त्यहाँ हवाइजहाज छैन ल्याण्ड गर्नका लागि । उड्नका लागि । यात्रु छैन झर्नका लागि । चढ्नका लागि । भनेपछि हामीले आवश्यताको प्राथमिकीकरण पनि गर्दैनौँ । पुल निर्माणमा त्यस्तै छ । एउटा नदीमा दशवटा पुल छ । कुनै ठाउँमा एउटा पनि पुल छैन । कुनैपनि कुरामा दुरगामी सोचहरु पनि छैन ।’

    अध्यक्ष नेपालले देशको सबै क्षेत्रहरुमा समस्या भएको भन्दै समस्याको मुख्य कारण भ्रष्टाचार भएको बताए । भ्रष्टाचारको अन्त्य सिंहदरबारबाट मात्रै गर्न सकिने उनको भनाई छ । उनले मुख्य नेतृत्वबाट नै भ्रष्टाचारको अन्त्य गर्न सकिने उल्लेख गरे । मुख्य नेतृत्वहरुमा भ्रष्टाचार अन्त्य गर्ने इमान्दार प्रतिवद्धता नहुञ्जेलसम्म भ्रष्टाचारको अन्त्य गर्न नसकिने उनले बताए ।

    उनले भने, ‘सबै समस्याको मुल कारण भनेको भ्रष्टाचारलाई देखेको छु । भ्रष्टाचार सबैभन्दा ठूलो महारोग हो । भ्रष्टाचारकै कारणले गर्दाखेरी हाम्रो सबै क्षेत्रमा समस्या देखिएका छन् । नीतिमा समस्या छ । परियोजना निर्माणमा समस्या छ । कुनै सम्झौता गर्ने कुरामा समस्या छ । योजनाको कार्यान्वयन गर्ने कुरामा समस्या छ । परिणामप्राप्त गर्ने कुरामा समस्या छ । गुणस्तरीय काम हुन नसक्ने कुरामा समस्या छ । सबै चिजहरुको कारण भनेको मैले भ्रष्टाचारमा देखेको छु । भ्रष्टाचारको अन्त्य अन्तबाट हुँदैन । त्यो माथि बाटै हुन्छ । मान्छे भन्छन् नि सिंहदरबारबाट हुन्छ । अर्थात टप लिडरसिपबाट हुन्छ । जबसम्म टप लिडरशिपमा म भ्रष्टाचार गफले होइन, नाराले होइन, साँचो अर्थमा इमान्दार प्रतिवद्धता व्यक्त हुँदैन । तबसम्म भ्रष्टाचारलाई अन्त्य गर्न सकिँदैन । तपाईले भ्रष्टाचार नगर्ने बित्तिकै भ्रष्टाचारीहरु डराउन थाल्छन् । आत्तिन्छन् ।’

    अध्यक्ष नेपालले नेपालले विदेशीहरुसँग अनुचित सम्झौता गर्ने गरेको दाबी गरे । उनले नेपालले विदेशीहरुसँग कुनैपनि सम्झौता गर्दा चुक्ने गरेको उल्लेख गरे । उनले विदेशीहरुसँग भएको सम्झौताहरुको सम्बन्धमा किन अनुगमन हुँदैन ? भन्ने प्रश्न समेत गरे ।

    उनले भने, ‘विदेशीहरुसँग कुनै सम्झौता हुन्छ । त्यहीँ भित्र चुकेको हुन्छ । त्यहाँ चुकिसकेपछि हामी केही पनि गर्न सक्दैनौँ । किन चुक्छन् त ? यसको अनुगमन किन हुँदैन ? के निर्देशन दिएर पठाइन्छ ? हाम्रो सामुमा के बाध्यता आइलाग्छ ? किन उनीहरुको सामुन्य हामी झुक्नुपर्ने ? मलाइ त मन्त्रालयमा काम गरेका मान्छेले भनेका छन् कि विदेशीहरुसँग गरेका सम्झौताका कागज पल्टाएर हेर्ने हो भने कहालीलाग्दो छ । सबै शर्तै शर्त । अनुचित शर्त । ति अनुचित शर्तहरुमा हस्ताक्षर भएको छ । हस्ताक्षर गर्ने त हामी भित्रैका होलान् । मन्त्री कति जिम्मेवार ? सचिव कति जिम्मेवार ? डिजि कति जिम्मेवार ? सरकारको प्रमुख कति जिम्मेवार ? यि सबै कुराहरुको पछाडी, प्रत्यकका पछाडी अलग–अलग कारण हुन सक्लान् । या हामी राम्ररी अध्ययन गर्दैनौँ । त्यो भएर मैले सुनेको छु, बाहिर गइसकेपछि के गर्छन् ? सिमाना नाप्न जाने मान्छेहरुले के–के गर्छन् ? पारीपट्टी भोज भतेर कत्तिको चल्छ ? उनीहरुको झोलाहरु के भरिएर आउँछन् ? यि सबै चिजहरुको निम्ति त राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई राम्ररी थाहा हुनुपर्छ ।’

    उनले कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको आधारशिला बनाउनुपर्ने बताए । यसको निम्ति राज्यले उच्च प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend