logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

    2K
    Shares
    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ । जस अनुसार मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्रामसहित धनकुटा छथर जोरपाटी गाउँपालिका-६ बस्ने ३३ वर्षीय नरेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    झापा, गौरीगंज गाउँपालिका-२ आपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसतासी नगरपालिका-३ बस्ने २६ वर्षीय सुवास तामाङ र सोही नगरपालिका-९ बस्ने ४० वर्षीय भिम प्रसाद तुम्बाहाम्फे रहेका छन् । ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ९१३५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    यसैगरी झापा, अर्जुनधारा नगरपालिका-३ भोर्लेनी चोक बस्ने २४ वर्षीय सोम प्रकाश लिम्बु र उनकै भाइ १९ वर्षीय सुजन लिम्बुलाई अवैध लागूऔषध गाँजा ३ केजी ५ सय ग्रामसहित  पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

    बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ तिनकुने चोकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बस्ने ५१ वर्षीय प्रकाश शाही समेत ३ जनालाई बिहीबार बिहान  पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले भैरहवाबाट बिर्तामोडतर्फ जाँदै गरेको ‘अन टेष्ट’ लेखिएको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

    मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी मोडबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ १२ ग्राम ७ सय ४० मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ पिप्ले बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र बागमती गाउँपालिका-६ फापरबारी बस्ने २१ वर्षीया रूपा विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले दिपेन्द्रलाई १२ ग्राम ३ सय ४० मिलिग्राम र रूपालाई ४ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend