logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • पीडित परिवारसँग भेटमा गृहमन्त्रीले भने : व्यक्ति नभइ मुलुक र व्यवस्था जोगाउन काम गर्दैछु

    पीडित परिवारसँग भेटमा गृहमन्त्रीले भने : व्यक्ति नभइ मुलुक र व्यवस्था जोगाउन काम गर्दैछु

    1.9K
    Shares
    पीडित परिवारसँग भेटमा गृहमन्त्रीले भने : व्यक्ति नभइ मुलुक र व्यवस्था जोगाउन काम गर्दैछु

    काठमाडौँ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।

    बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा पीडित परिवार श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उनका पुत्र रोहन श्रेष्ठले खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गरेका हुन् ।

    उनीहरुले कुनैपनि राजनीतिक दलहरुको आग्रह र पूर्वाग्रहमा लागेर राजनीतिक उन्मुक्ति नदिन पनि गृहमन्त्री लामिछानेको खबरदारी गरे । भेटमा बोल्दै रमिलाले अपराधीलाई राजनीतिक संरक्षणमा छोड्न नहुने बताए ।

    उनले यसअघि पनि विभिन्न राजनीतिक दलहरुको संरक्षणमा पटक पटक छोडिएको भन्दै उनले अपराधीलाई कारबाही गर्न माग गरे । उनले श्रीमान नपाए पनि अब न्याय पाउने आश लागेको बताए । उनले खाम पक्राउ परेपछि आफू र परिवारमाथि सुरक्षा चुनौति बढेको बताए।

    उनले भने, ‘अपराधी राजनीतिक संरक्षणमा नछुटोस् । पहिला पनि राजनीतिक संरक्षणका कारण पटक पटक छुटेको रेकर्ड छ । उसलाई कारबाही होस् । मैले श्रीमान नपाए पनि न्याय पाउँ । मलाई न्याय पाउँछु की भन्ने आश लागेको छ । मन हलुका भएको छ ।’

    पीडित परिवारको भनाइ सुनिसकेपछि गृहमन्त्री लामिछानेले कुनै राजनीतिक दल र कुनै व्यक्तिको शक्ति हेरेर नभइ सत्यको आधारमा कारबाही गर्ने बताए । उनले काम गर्न जटिलता भएपनि अपराधीलाई उन्मुक्ति नदिने बताए । उनले कसैप्रति आग्रह, पूर्वाग्रह नराखिकन काम गरिरहेको बताए ।

    उनले भने ‘हामीले कुनै राजनीतिक दल हेरेर, कुनै व्यक्तिको शक्ति कहाँ छ भन्ने हेरेर त्यो हिसावले होइन, हामीले न्याय के हो ? सत्य के हो ? त्यसमा काम गर्ने हो ।

    केही जटिलता छ, काम गर्ने जटिलता छ, समाजमा जटिलता छ । एक जना फेरिने बित्तिकै सबै फेरिने त होइन । समय लाग्छ । इमान्दारीपूर्वक काम गरिरहेका छौँ ।

    हामी सम्पूर्ण रुपमा अनुसन्धान गर्छौं । कसैप्रति आग्रह, पूर्वाग्रह छैन, हामीले सबैलाई कानूनको दृष्टिकोणबाट हेर्नेछौँ । हामीले व्यक्ति जोगाउने होइन, मुलुक र व्यवस्था जोगाउने हो । जनता, न्याय जोगाउने हो ।’ गृहमन्त्री लामिछानेले व्यक्ति जोगाउने नभइ आफू मुलुक, व्यवस्था, जनता र न्याय जोगाउने काममा लागेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend