काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आज देशभर सार्वजनिक यातायातका साधन बन्दको घोषणा गरेसँगै यात्रुहरु मर्कामा परेका छन् ।
सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसको प्रभाव काठमाडौं उपत्यका लगायतमा परेको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । काठमाडौंका सडकमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेका छन् भने सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको गण्डकी प्रदेश सरकारले देशको संविधानको धारा ५७ को उपधारा ६ उपधार ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी राइडर शेयरिङ्को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका पुराना १० वर्षे दुई पाङ्ग्रे सवारी साधन, १५ वर्ष पुराना निजी ४ पाङग्रे सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्ने गरी वैशाख ३१ गते गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी जेठ १ गते सञ्चालन गर्ने गरी नियमावली बनाइ कार्यान्वयन तर्फअगाडि बढेको हुँदा गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयहरूमा माग पत्रसहित पटक–पटक ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको हुँदा यातायात व्यवसायी, मजदुरका समस्या राखी सात बुँदे माग पत्र नेपाल सरकारसमक्ष पेश गरेका छौँ ।’
प्रतिक्रिया दिनुहोस