काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ ।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार २ ः १५ बजे सुरु हुनेछ । दुवै टोली आ–आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ए लाई पाकिस्तान शाहीन्सले ७९ रनले हराएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।
बंगलादेश ए गत सिजनको उपविजेता टोली हो । टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका र हालैको बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छन् ।
२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।
नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।
प्रतिक्रिया दिनुहोस