काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले जितको खाता खोलेको छ । नेपालले होबर्ट हरिकेन्स एकेडेमीसँग ६५ रनको फराकिलो जित निकालेको हो ।
जितमा नेपालका फास्ट बलर नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए ।
यसअघिका ३ वटै खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १-१ विकेट लिए ।
होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए । चार्ली वाकिमले २८ रन बनाउँदा जेन कर्टेन २० रनमा नटआउट रहे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए । आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बम २५ रनमा अविजित रहे ।
नेपालले अतिरिक्त ३२ रन पाएको थियो ।
होबार्टका निभेथन राधाकृष्णनले २ विकेट लिए । राफ माकमिलनले पनि २ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १-१ विकेट हात पारे ।
प्रतिक्रिया दिनुहोस