काठमाडौं । सशस्त्र प्रहरी बलको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका र ग्रीनसिटी समुदायिक सेवा केन्द्रको सहकार्यमा वीरगञ्ज–१६ स्थित देशकै प्रमुख नाकामध्येको मैत्री पुल क्षेत्रमा विशाल सफाइ तथा सौन्दर्यकरण अभियान सम्पन्न गरिएको छ।
यस अभियानले सीमाक्षेत्रको वातावरणीय संरक्षण तथा नगरको आकर्षण बढाउन उल्लेखनीय योगदान गरेको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको सक्रिय सहयोग तथा प्रकृतिप्रतिको विशेष लगावले महत्वपूर्ण भूमिका खेलेको थियो। सशस्त्र प्रहरी नं. १३ गणका गणपति पुरनचन्द्र भट्टको पहलमा सम्पन्न भएको कार्यक्रममा भारतको एसएसबी ४७ बटालियनका डिपुटी कमान्डेन्ट सञ्जय रावतले समेत सहभागिता जनाएका थिए, जसले दुई देशबीचको स्थानीय मैत्री र सहयोगलाई अझ मजबुत बनाएको सहभागीहरूको धारणा छ।
सफाइ र सौन्दर्यकरणले मैत्री पुल क्षेत्रको रुपमै परिवर्तन ल्याएको स्थानीयवासी, सरोकारवाला निकाय, सीमाबाट आवतजावत गर्ने पर्यटक तथा पदयात्रीहरूले उल्लेख गरेका छन्।
उनीहरूले यस्तो सराहनीय कार्यको थालनी गरेकोमा सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गर्दै निरन्तरताको अपेक्षा व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस