बिरगंज - पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ निर्मलबस्तीस्थित सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सुवर्णपुरको गस्ती टोलीले ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ।
मंसिर २५ गते बिहान ३ बजेतिर स.प्र.ना.उ. किशन केसीको कमाण्डमा खटिएको १० जनाको पैदल गस्ती टोलीलाई देखेपछि करिब ९/१० जना व्यक्तिहरूले नाम्लो लगाई ढाडमा बोकेको सामान फालेर भारततर्फ फरार भएका थिए। गस्ती टोलीले फालिएको ६ वटा प्लास्टिकको पोका जाँच गर्दा ९१ केजी लागुऔषध गाँजा भेटिएको सीमा सुरक्षा गुल्म सुवर्णपुरले जनाएको छ।
बरामद गरिएको गाँजा सोही दिन १७:१५ बजे सीमा सुरक्षा गुल्मले इलाका प्रहरी कार्यालय ठोरीलाई बुझाएको हो।
यसअघि पनि पर्सामा लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाइएका छन्। केहि दिन अगाडी दुई दिनमै कडाइका साथ चेकजाँच सञ्चालन गरेपछि २२२ केजी गाँजा बरामद भएको छ।
पछिल्ल्लो समय पर्साका प्रहरी प्रमुख एसपी पुरनचन्द्र भट्ट लागुऔषध तस्करी बिरुद्ध आक्रामक रुपमा देखिएका छन्।


प्रतिक्रिया दिनुहोस