काठमाडौं । सुनौलो नेपालले आज चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ आयोजना गर्दैछ । भरतपुरस्थित होटल सिराइचुलीमा दिउँसो १ बजेदेखि सुरु हुने उक्त कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहनेछ ।
कार्यक्रम तीनवटा प्यानल डिस्कसनमा विभाजित गरिएको छ । कार्यक्रममा शैक्षिक उद्यमी सुरेन्द्र सुवेदीले ‘मैले देखेको भरतपुर’ विषयमा मन्तव्य राख्दै कार्यक्रमको सुरुवात गर्नेछन् ।
पहिलो सेसन भरतपुरको विकास तथा निर्माणमा केन्द्रित हुनेछ । यस प्यानलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको सहभागिता रहनेछन । सेसनको सहजीकरण वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले गर्नेछन् ।
दोस्रो सेसनमा भरतपुरको पर्यटन विकासबारे छलफल हुनेछ । यस प्यानलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र डा. विश्व सुवेदी सहभागी हुनेछन् । छलफलको सहजीकरण पत्रकार समा थापाले गर्नेछिन् ।

तेस्रो सेसनमा भरतपुरलाई मेडिकल हबका रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा प्यानल डिस्कसन हुनेछ । यो सेसनमा भरतपुर अस्पतालका पूर्व अध्यक्ष डा. भोजराज अधिकारी, ओम मेघा श्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा. शिवजी पौडेल र सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल सहभागी हुनेछन् । यो सेसनको सहजीकरण प्रकाश ज्ञवालीले गर्नेछन् ।

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल प्रमुख वक्ता रहनेछन् भने सञ्चारमन्त्री जगदीश खरेल विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । सुनौलो नेपालका अध्यक्ष मोहराज पौडेलले कन्क्लेभले भरतपुरको समग्र विकासका लागि नयाँ दिशा र मार्गचित्र प्रस्तुत गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस