काठमाडौं । प्रथम नौबिस्या कप खुला क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालको मैदानमा सुरु भएको प्रतियोगितामा २५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा बझाङ जिल्लाको प्रतिधित्व गर्ने टिमहरूलाई मात्र सहभागी गराइएको थलिनौबिस काठमाडौं युवा सञ्जालका अध्यक्ष पदम बोहराले जानकारी दिए । उनका अनुसार शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा २५ टिमको सहभागिता रहेको छ ।
‘माघी पर्वको अवसरमा हामीले यो क्रिकेट प्रतियोगिताको आयोजना गरेका हौँ । नेपालमा क्रिकेट माहोल तीव्र गतिमा बढिरहेको छ । र, हाम्रो जिल्लाबाट पनि राम्रो खेलाडी उत्पादन भइरहेका छन्,’ अध्यक्ष बोहराले भने, ‘बझाङबाट धेरै विद्यार्थी काठमाडौंमा अध्ययनरत छन् । र, उनीहरूमध्ये धेरैले क्रिकेट आयोजना गर्नुपर्ने आवाज उठाइरहेका थिए । सोही कारण हामीले यो वर्षबाट नौबिस्या कपको आयोजना गरेका हौँ ।’
यस्तै, थलिनौबिस काठमाडौं युवा सञ्जालका सहइन्चार्ज तथा प्रतियोगिताका संयोजक सिकेद्र रोकायाले बझाङ जिल्लाभरका साथीहरूसँग भेटघाट गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको बताए । ‘हामीले प्रतियोगितामा बझाङको २५ टिम हुन्छन् भनेर कल्पना गरेका थिएनौँ । तर, बझाङवासीहरूले अत्यधिक माया देखाउनुभयो । सबै खेलाडीहरूलाई बधाई तथा शुभकामना ।’

थलिनौबिस युवा सञ्जालका इन्चार्ज गणेश बुढाका अनुसार युवाहरूलाई जोड्ने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । साथै थलिनौबिस युवा सञ्जालले अहिलेसम्म धेरै सामाजिक कार्य गरेको पनि उनी बताउँछन् । ‘थलिनौबिस युवा सञ्जाल वि.सं २०७८ सालमा स्थापना गरेका थियौँ । यसकै पहलमा हामीले २२–२५ लाखजतिको लगानीमा दुर्गादेवीको मन्दिर निर्माण गरिसकेका छौँ । साथै शिक्षासम्बन्धी काम गरेका छौँ । बिर्सती मेला पनि यही वर्ष हामीले सम्पन्न गर्न सफल भयौँ । सोहीअन्तर्गत हामीले काठमाडौंमा रहेका बझाङका युवाहरूलाई एकत्रित गर्न नौबिस्या कपको आयोजना गरेका हौँ,’ इन्चार्ज बुढाले भने ।
थलिनौबिस युवा सञ्जालका सल्लाहकार शिवराज चलाउने बझाङ जिल्लाका खेलाडीहरूलाई प्रोत्सान गर्न तथा अभ्यास र परिचय होस् भन्ने उद्देश्यका साथ क्रिकेट प्रतियोगिताको आयोजना गरिएको बताउँछन् । ‘माघीको अवसरमा हामीले क्रिकेट प्रतियोगिता गर्ने पूर्वयोजना थियो । र, आज त्यो योजना सफल भएको छ । हाम्रो जिल्लामा भएका क्रिकेट खेलाडीलाई अगाडि बढाउन पनि नौबिस्या कपले मद्दत गर्नेमा हामी आशावादी छौँ,’ चलाउनेले भने ।
नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षाध्यक्ष (रेक्टर) सह–प्रा.डा. डबलबहादुर धामी (हिमाल) ले संयुक्तरूपमा क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका थिए । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै एमाले नेता महरले क्रिकेट विकासमा थलिनौबिस युवा सञ्जालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । साथै उनले खेलाडीलाई खेल भावनाअनुसार खेल्न पनि अनुरोध गरे ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रेक्टर धामीले यस्तो प्रकारको जमघट र क्रिकेट प्रतियोगिताले बझाङवासीहरू एकत्रित हुन सहयोग मिल्ने बताए । साथै उनले आफ्नो ठाउँ, जिल्ला र क्षेत्र विकासका लागि युवाहरूलाई अगाडि बढ्न पनि अनुरोध गरे ।
प्रथम नौबिस्या कपको फाइनल खेल शनिबार हुनेछ । विजेता टिमले २१ हजार ९२० र उपविजेताले ९ हजार ९२० रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजना थलिनौबिस काठमाडौं युवा सञ्जाल जनाएको छ ।
प्रथम नौबिस्या कपको मुख्य प्रायोजन काठमाडौंको पुतलीसडकस्थित एबी अप्लाइले गरेको छ ।

प्रतिक्रिया दिनुहोस