२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुगुको सोरुमा अज्ञात रोग फैलिँदा २ सय भन्दा बढी भेडा-बाख्रा मरे, किसान चिन्तित

बुधवार , माघ २१, २०८२

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका-१० र ११ अन्तर्गत दई, कोटवाडा, धैन, लोली, तलिवडा, हितवाडा, रोकयावाडा र कोट गाउँमा पछिल्लो एक महिनादेखि अज्ञात पशुरोग फैलिँदा २०० भन्दा बढी भेडा र बाख्रा मरेका छन् ।

यी दुई वडाको मुख्य पेशा भनेको नै भेडा र बाख्रा पालन भएको हुँदा यसैमा रोग तीव्र रूपमा फैलिँदै जाँदा स्थानीय गोठालाहरू गम्भीर चिन्तामा परेका छन् ।

स्थानीय युवा तथा नेपाल किसान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष रत्नलाल देवकोटाका अनुसार यी दुई वडामा करिब १,५०० देखि २,००० सम्म भेडा र बाख्राको संख्या रहेको छ । उनका अनुसार दैनिक रूपमा पशु मर्न थालेपछि गाउँमै त्रासको अवस्था सिर्जना भएको छ । संक्रमित पशुमा फोक्सोमा पिप जम्ने, शरीर भरी पानीका फोका देखिने, कपाल सुन्निने, दिसा गनाउने, दुब्लाउँदै जाने, खोकी लाग्ने तथा लुतो लाग्ने जस्ता लक्षण देखिएको गोठालाहरूले जानकारी गराएका छन् ।

स्थानीय भेडा गोठाला रतन मल्लले आफूसँग रहेका ८० भेडामध्ये यस्तै लक्षण देखिएपछि १० वटा भेडा मरेको बताए । अर्का गोठाला पुन्न मल्लका अनुसार ६० भेडामध्ये ९ वटा भेडा रोगका कारण मरेका छन् । त्यस्तै, बाख्रा गोठाला काईचन्द्र देवकोटाले आफूसँग रहेका १५० बाख्रामध्ये २० वटा बाख्रा मरेको जानकारी दिए ।

यसैगरी स्थानीय प्रदीप प्याकुरेलका ४५ मध्ये १० वटा, परेकलाल जैसीका ५० मध्ये ६ वटा र कबे जैसीका ४० मध्ये ७ वटा बाख्रा मरेका छन् । वडाका १०० वटा भन्दा बढी बाख्रा र भेडा गोठालाको क्षति भएको स्थानीयले बताएका छन् । पशु मृत्युदर बढ्दै जाँदा गोठालाहरूको आर्थिक अवस्था थप संकटमा परेको छ । दिनरात मेहनत गरेर भेडा बाख्रापालनबाटै दैनिक जीविको पार्जन गर्दै आएका किसानहरू परिवार कसरी पाल्ने र छोराछोरीको पढाइ कसरी निरन्तरता दिने भन्ने चिन्तामा परेका छन् ।

स्थानीय बाख्रा गोठाला देवीभक्त प्याकुरेलले अहिलेको अवस्था इतिहासकै अत्यन्तै पीडादायी बनेको र यस रोगका कारण कति रुनु, कहाँ जानु, के गर्नु, कसलाई भन्नु, नजिकै कुनै पनि पशु स्वास्थ्य कार्यालय छैन, सदरमुकाममा पुग्न १ दिन लाग्छ, अहिलेसम्म कुनै जाँच गरेको छैन र दिनदिनै बाख्रा मरेर नाश भइरहेको प्याकुरेल बताउँछन् ।

यति ठूलो क्षति हुँदा समेत सोरु गाउँपालिकाको पशु स्वास्थ्य शाखा र जिल्ला पशु सेवा कार्यालय मुगु घटनाबारे समयमै जानकारी नलिएको भन्दै स्थानीयवासीले असन्तोष व्यक्त गरेका छन् । उनीहरूले तत्काल पशु चिकित्सक सहितको प्राविधिक टोली परिचालन गरी रोगको पहिचान, नियन्त्रण तथा पीडित किसानलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ