काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तबरले सहिद स्मारक 'ए' डिभिजन लिगको मिति तय गरेको भन्दै 'ए' डिभिजन क्लबहरु आन्दोलित भएका छन् ।
एन्फा र क्लबहरूबीच यसअघि भएको सहमति कार्यान्वयन गर्नुको साटो एकलौटी तबरले 'ए' डिभिजन लिगको मिति तय गरेको भन्दै 'ए' डिभिजन क्लबहरुले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा प्रदर्शन गरेका हुन् । प्रदर्शनसहित एन्फा कार्यालय जान लागेका प्रदर्शनकारीलाई प्रहरीले गेटमा नै रोकेपछि उनीहरुले बाहिर धर्ना दिएका थिए ।
ए डिभिजन क्लबहरुले कार्तिक १७ गते भएको कार्यतालिकासहितको सहमति कार्यन्वयन हुनुपर्ने, बिदेशी खेलाडीहरूको हकमा विन्ड खुला गरी एकद्वार प्रणालीबाट परमिट लिने व्यवस्था अबिलम्ब गर्नुपर्ने माग राखेका छन् ।
साथै, उनीहरुले सहिद स्मारक ए डिभिजन लिगको लागि १४ क्लबको सहभागी हुने भन्ने उल्लेख गरिएकोले लिगको वैधताको तथा कानुनी अड्चन आउन नदिन एन्फाले समयमै निर्णय गरि १४ वटा क्लबको सहभागिता सुनिश्चितता गर्नुपर्ने जनाएका छन् भने एकलौटी तबरले सहभागी क्लबहरूसँग छलफल नै नगरि मनोमानि तबरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोमा उक्त निर्णय अबिलम्ब सच्चाइ क्लबहरू सहमति अनुसार निर्णय गर्न उनीहरुले माग राखेका छन् ।
लिग सम्बन्धि प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिश्चितता गरी क्लबसँगको सहमतिमा मात्र लिगको मिति तय गर्नुपर्ने माग छ ।
प्रतिक्रिया दिनुहोस