मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने तीन जना व्यापारीलाई प्रहरीले जनही रु २० हजारका दरले जरिवाना गरेको छ।
उपभोक्तालाई झुक्याएर गलत सूचना दिँदै मासु बिक्री गरेको पुष्टि भएपछि इपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
प्रहरी प्रमुख रबिराज थपलियाका अनुसार उपभोक्ताको स्वास्थ्य तथा आर्थिक हितविरुद्ध हुने गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई थप कडाइ गरिनेछ।
स्थानीय उपभोक्ताबाट खसीको नाममा बाख्रीको मासु बिक्री भइरहेको गुनासो आएपछि प्रहरीले केही दिनदेखि गोप्य निगरानी बढाएको थियो। सोही क्रममा प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमाण्डमा खटिएको टोलीले गमगढी बजारका विभिन्न मासु पसलमा छापा मारेको थियो।
अनुगमनका क्रममा रावत मासु पसल (तिलक ब. रावत), बोहोरा मासु पसल (चक्र बोहोरा) र आफन्त होटल (रिसिम बुढा)बाट बाख्री काटेर खसीको मासु भन्दै बिक्री भइरहेको भेटिएको प्रहरीले जनाएको छ। ती पसलमा मासु तयारी अवस्थामा राखी ग्राहकलाई खसीको भन्दै बिक्री गरिँदै आएको पाइएको थियो।
प्रहरीका अनुसार गमगढी बजारमा खसीको मासु प्रतिकिलो करिब रु १ हजारमा बिक्री हुँदै आएको छ। यही मूल्यको फाइदा उठाउँदै केही व्यापारीले सस्तो पर्ने बाख्रीको मासुलाई खसीको भन्दै बिक्री गरेर उपभोक्तालाई ठगी गर्दै आएका थिए।
नियन्त्रणमा लिइएको मासु पशु चिकित्सकमार्फत परीक्षण गर्दा खसी नभई बाख्रीको मासु भएको पुष्टि भएपछि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता ठगीपूर्ण तथा उपभोक्ता अधिकार विपरीतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई अझ प्रभावकारी बनाउने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस