काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफू नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको व्यवसायिक हकहित र सुरक्षाप्रति सधैं प्रतिबद्ध रहेको जनाएको छ।
हालैका घटनाक्रम र पूर्व अध्यक्ष शेखर गोल्छाका सम्बन्धमा बाहिर आएका विषयहरूप्रति पनि नाडाले गम्भीर चासो र ध्यानाकर्षण प्रकट गरेको छ।
नाडाले भनेको छ, ‘शेखर गोल्छा नेपालको औद्योगिक एवं व्यवसायिक जगतका एक सम्मानित व्यक्तित्व हुनुहुन्छ। उहाँले नाडाको पनि सफल नेतृत्व मात्र गर्नुभएको छ। उहाँले समग्र निजी क्षेत्रलाई नयाँ दिशा दिन र मुलुकको आर्थिक विकासमा अतुलनीय योगदान पुर्याउनु भएको छ। यस्तो गरिमामय इतिहास बोकेको र देशकै ठूलो औद्योगिक घरानाको नेतृत्व गरिरहनु भएको व्यक्तित्व माथि गरिने कुनै पनि अन्यायपूर्ण व्यवहारले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश जाने हाम्रो ठम्याइ छ।’
त्यस्तै, नाडाले सत्यतथ्य छानबिन हुनुपर्ने बताएको छ। राज्यले गर्ने अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने नाडाले जनाएको छ। यद्यपि, अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताहरूको आत्मविश्वासलाई खलल पुर्याएको नाडाको भनाई छ।
‘निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी भित्र्याउनु पर्ने समयमा प्रतिष्ठित व्यवसायीहरूमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमा त्रासको वातावरण सिर्जना गर्नेछ। यसले सरकारले अघि सारेको “लगानी मैत्री नेपाल” को नारालाई समेत कमजोर बनाउने देखिन्छ’ नाडाले भनेको छ ।
साथै, नाडाले नेपाल सरकार र सम्बन्धित निकायसँग शेखर गोल्छाको हकमा ‘पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन’ अनुरोध गरेको छ। ‘दोषी प्रमाणित नभएसम्म उहाँ जस्तो प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यवसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको पनि दायित्व हो। अनुसन्धानमा उहाँले पूर्ण सहयोग गर्नेमा समेत हामी विश्वस्त छौँ’ नाडाले भनेको छ ।
निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै मुलुकको आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न पनि नाडाले नेपाल सरकारसँग माग गरेको छ।
प्रतिक्रिया दिनुहोस