२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

संघ–प्रदेश समन्वय अभावले विकासमा बाधा भयाे : मुख्यमन्त्री कार्की

आइतवार , माघ २५, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानले समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा तीनै तहका सरकार सञ्चालन हुने व्यवस्था गरे पनि व्यवहारमा सोअनुसार काम हुन नसकेको बताएका छन् ।

आईतबार विराटनगरमा आयोजित प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह र प्रदेशबाट ९९ प्रतिशत काम सम्पन्न गरेर संघीय सरकारमा पठाउँदा समेत कतिपय विषयमा समस्या समाधान नहुने अवस्था रहेको बताए । उनले संघसँगको प्रभावकारी समन्वय अभावकै कारण प्रदेश सरकारले अपेक्षित रूपमा काम गर्न नसकेको उल्लेख गरे ।

प्रदेशमा देखिएका समस्या प्रदेशमै समाधान गर्नुपर्नेमा जोड दिँदै उनले संघसँग सहकार्य आवश्यक पर्ने विषयहरू समन्वयका माध्यमबाट टुंग्याउन आग्रह गरे । कतिपय काम प्रदेशले आफ्नै सिर्जनात्मक ढंगले अगाडि बढाउनुपर्ने अवस्था आएको बताउँदै उनले सम्बन्धित निकायहरूलाई सक्रियतापूर्वक लाग्न निर्देशन दिए ।

बैठकमा कोशी प्रदेशको सार्वजनिक खर्च मापदण्ड तथा मितव्ययिता निर्देशिकाका कारण काम गर्न अप्ठ्यारो भइरहेको विषय उठाइएको थियो। साथै राजस्व सङ्कलन र दायरा विस्तार गर्ने, आवश्यक कानुन तथा कार्यविधि निर्माण गर्ने, समपुरक बजेटका आयोजनाहरू व्यवस्थित रूपमा सञ्चालन गर्ने र बेरुजु घटाउने विषयमा समेत छलफल भएको छ ।

बहुवर्षीय आयोजनाहरूको दायित्व र त्यसले भविष्यमा पार्ने प्रभाव, साना आयोजनाको कार्यान्वयनमा देखिएका समस्या, तथा प्रदेश सरकार मातहतका यातायात अधिकार खुम्च्याउने र कृषि आयकरलगायत प्रदेशका क्षेत्राधिकारमा केन्द्र सरकारले पर्याप्त ध्यान नदिएको विषय पनि बैठकमा गम्भीर रूपमा उठाइएको प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए ।

बैठकमा सहभागी मन्त्री तथा सचिवहरूले आ–आफ्ना मन्त्रालयमा देखिएका समस्याहरू प्रस्तुत गरेका थिए। हाल देखिएका समस्याहरू फागुनभित्रै समाधान गर्ने तयारीका साथ अगाडि बढ्ने निर्णय बैठकले गरेको छ ।

प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले बैठकमा उठेका विषयहरू संघ सरकारसँग समन्वय गरी समाधान गरिने र प्रदेशबाट गर्नुपर्ने काम तत्काल कार्यान्वयन गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट