विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेश र स्थानीय तहका आफ्नै संवैधानिक अधिकार रहेको स्पष्ट पारेका छन् । उनले संविधानले नै प्रदेश र स्थानीय तहको क्षेत्राधिकार छुट्याएको उल्लेख गर्दै सोही आधारमा सरकार अघि बढिरहेको बताए ।
पत्रकार महासंघ कोशी प्रदेशको ८ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले कोशी प्रदेश सरकारले पत्रकार तथा मिडिया क्षेत्रलाई सुदृढ बनाउन आमसञ्चार विधेयक पारित गरिसकेको जानकारी दिए । उनले आमसञ्चार प्राधिकरण गठन गरी त्यसको नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाइएको समेत बताए ।
उनका अनुसार प्राधिकरणको नेतृत्वले नै पत्रकारितासम्बन्धी आवश्यक नियमावली तयार पार्नेछ । “पत्रकारका समस्या पत्रकारले नै राम्रोसँग बुझ्छन्, त्यसैले नियमावली निर्माणको जिम्मेवारी पनि सम्बन्धित नेतृत्वलाई दिने तयारी गरिएको हो,” मन्त्री पराजुलीले भने ।

उनले पछिल्लो समय केन्द्र सरकारले मिडियाप्रति देखाएको व्यवहार सन्तोषजनक नभएको टिप्पणी गर्दै प्रदेश सरकार पत्रकार तथा सञ्चार क्षेत्रको संरक्षण र प्रवद्र्धनमा प्रतिबद्ध रहेको बताए ।
कार्यक्रम पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकार महासंघ सरकारको निर्णयविरुद्ध आन्दोलनरत रहेको जानकारी दिए । उनले सरकारले निर्णयमा पुनर्विचार गर्ने संकेत दिए पनि त्यसमा पूर्ण विश्वास गर्ने अवस्था नरहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले केन्द्र सरकारले सरकारी मिडियामा मात्र सूचना प्रकाशन गर्ने निर्णयको विरोध गर्दै त्यसविरुद्ध सशक्त आन्दोलन आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले प्रदेश सरकारले आफ्नो अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्वतन्त्र रूपमा आफ्नै नीतिनियम अनुसार अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस