काठमाडौं । काठमाडौंको माकलबारीमा एक जना किशोरको हत्या गरेर शव गाडेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका ८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कसप पछाडि रहेको जमिनमा एक किशोरलाई मारिएर गाडिएको भेटिएको हो ।
यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
सर्लाही चक्रघट्टा गाउँपालिका-८ घर भई गोकर्णेश्वर बाहुनधारा बस्ने १९ वर्षीय राहुल साहको शव फेला परेको हो। उनी चैत ११ गतेदेखि बेपत्ता उनको शव चैत १५ गते फेला परेको हो।
साहको हत्या गरेको आरोपमा प्रहरीले बाहुनधारा बस्ने २२ वर्षीय निपु मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारतीय नागरिक २९ वर्षीय सुनिल शर्मालाई पक्राउ गरेको हो ।
शर्मा उक्त मोटरसाइकल वर्कशप सञ्चालक हुन्। उनीहरुबीच आर्थिक लेनदेनको विषयमा झडप भएको थियो ।
पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस