काठमाडौं । नेपाली पब्जी टिम होरा इस्पोर्ट्स साउदी अरेबियामा सम्पन्न इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गर्न सफल भएको छ ।
फाइनलको अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १०० अंकसहित नवौं भएको हो ।
यस उपलब्धिसँगै होरा इस्पोर्ट्सले विभिन्न चरणमा प्राप्त पुरस्कारसहित कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर (करिब १ करोड ७८ लाख ९७ हजार १७५ रुपैयाँ) जितेको छ।
गत शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजको खेलमा होरा इस्पोर्ट्स समग्रमा १३औं भएपछि सिधै ग्राण्ड फाइनलमा पुग्न सकेको थिएन ।
लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेको होरा सर्भाइभल स्टेज जितेर फाइनलमा पुगेको थियो । सर्भाइभल स्टेजको शीर्ष ८ मा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो ।
सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकेन डिनरसहित कुल १०८ अंक जोड्यो । योसँगै होराले २५ हजार डलर पनि जितेको छ ।
लिग स्टेजमा १३औं भएको होराले उक्त पोजिसनको पनि २७ हजार ५०० डलर पुरस्कार प्राप्त गर्यो । पब्जी मोबाइल विश्वकपको उपाधि भने म्यानमारको वाइजी इस्पोर्ट्सले जित्यो ।
प्रतिक्रिया दिनुहोस